झापा । जिल्ला अदालत रूपन्देहीले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ।
अदालतले उनीसहित १२ जनालाई पक्राउ गर्ने अनुमति दिएको हो।
बिहीबार संगठित रूपमा सहकारीको बचत रकम अपचलन गरेको मुद्दामा पक्राउ परेका लामिछाने र पूर्व डिआइजी छविलाल जोशीसहित १२ जनालाई रूपन्देहीको सुप्रिम सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि अदालतले पक्राउ गर्न अनुमति दिएको हो।
जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरूलाई पक्राउ गर्ने अनुमति दिएको जानकारी दिए।
यसअघि पनि बुटवलबाटै मुद्दाको अनुसन्धान भइरहेको र संसदीय छानविन विशेष समितिको प्रतिवेदनका आधारमा लामिछाने र जोशीसहित १२ जनालाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलले अदालतसँग अनुमति माग गरेको थियो।
बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा २ करोड ५० लाख र लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
