झापा । झापाको बिर्तामोड नगरपालिकाले एक महिनाभन्दा लामो दसैँ-तिहार-छठ पर्व विदा दिएको छ। एक महिना भन्दा लामो विदा दिएका कारण छोरा-छोरीको पढाई विग्रिने भन्दै केही अभिभावनहरूले असन्तुष्टि जनाएका छन्।
असोज १७ गते घटस्थापनाका दिनदेखि छठ पर्व सकिएको दुई दिनपछि कात्तिक २५ गते विद्यालय लगाउने गरी नगरपालिकाले ३७ दिन लामो विदा दिएको हो।
शिक्षकहरूले सबै चाडबाड आनन्दले मनाउन पाउने भन्दै खुशी व्यक्त गरेका छन्।
हिउँदे र बर्खे विदा कट्टा गरेर एक महिने दसैँ विदा दिइएको बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए। उनले प्याव्सन, एन प्याव्सन, शिक्षक महासंघलगायतका संघ संगठनको सल्लाह अनुसार नै सो विदा पारित गरिएको जानकारी दिए।
लामो समयसम्मको विदा दिँदा पढाई बिग्रिने भएकाले नचाहँदा नचाहँदै विदा दिनु परेको नगरपालिकाका एक अधिकृतले बताए।
विद्यालयहरुले आ–आफ्नो शैक्षिक क्यालेन्डरमा एक महिने विदा उल्लेख गरेका थिएनन्। शैक्षिक क्यालेन्डरमा उल्लेख नगरिएको विदा दिन नमिल्ने भन्दै बिर्तामोडका केही संस्थागत विद्यालयहरुले नगरपालिकाको त्यस निर्णयलाई नमान्ने भएका छन्।
बिर्तामोडका लिटल फ्लावर्स, बाल्मीकि, तक्षशीला, कंचनजंघालगायतका संस्थागत विद्यालयहरुले दसैँपछि पठनपाठन सुरु गरेका छन्।