विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजबाट सवारी साधन आवागमनमा रोक लगाइएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार कोशी ब्यारेजबाट सवारी साधन आवागमनमा रोक लगाइएको हो।
सप्तकोशी नदीमा पानीको बहाव उच्च भएसँगै नदी किनारस्थित वराहक्षेत्र नगरपालिकाका केही वडा डुबानमा परेका छन्। शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले डुबानमा परेको नदी आसपास क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
कोशीमा बढेको पानी वराहक्षेत्र नगरपालिका ६ स्थित ठाकुरबारी, टिक्री चिलिया टापुमा २२ जना फसेको मुख्यमन्त्री कार्कीले बताए।
त्यसैगरि, सोही नगरपालिकास्थित वडा नम्बर ९ मा समेत बाढीमा परि १२ जना फसेका छन्। हाल कुल ३४ बाढीमा फसेका बताउँदै उनीहरुको उद्धारका लागि मुख्यमन्त्री कार्कीले गृहमन्त्रीसंग समेत पहल गरेको बताएका छन्।
स्थलगत निरीक्षणपछि मुख्यमन्त्री कार्कीले उनीहरुको उद्दारका लागि सुरक्षा निकायसँग समन्वय गर्दै हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी भइरहेको छ।
हाल ५६ वटा ढोका खुला गरिएको कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० क्यूसेक मापन गरिएको छ।
