झापा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०७९/८० मा ४६ करोड १० लाख २५ हजार ३६९ रुपैयाँ आम्दानी गरेको छ ।
बुधबार संस्थाले १४औं बार्षिक मूल माइन्युट प्रमाणित सभा आयोजना गरी संस्थाले गत आवको गतिविधि बारे जानकारी गराएको हो ।
संस्थाले ५ करोड २७ लाख ६५ हजार ७२४ रुपैयाँ खुद नाफा गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए। सिम्रिकले गत आवको आम्दानीबाट ४१ लाख १३ हजार ८१२ रुपैयाँ राजश्व तिरेको जनाएको छ ।
खुद आम्दानीबाट संस्थाले १ करोड ४० लाख ७५ हजार ३१९ रुपैयाँ शेयर लाभांश कोषमा छुट्याएको र ४.९५ प्रतिशतले वितरण गर्न लागिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
‘एक घर एक सदस्य अभियान; सिम्रिक सफलताको हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ संचालित सिम्रिकले झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा ४६ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ ।
संस्थामा ६४ हजार २३६ जना शेयर सदस्य र ३२ करोड ९६ लाख ६६ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको छ।
कार्यक्रममा उत्कृष्ट शेयर सदस्य, सेवाकेन्द्र र पत्रकारलाई सम्मान समेत गरिएको थियो ।
संस्थाले यस अघि नै ७ वटा इकाइगत साधारण सभा सम्पन्न गरी बुधबार अन्तिम माइन्युट प्रमाणीकरण कार्यक्रम गरेको जनाएको छ ।
