झापा । झापाको गौरीगञ्जमा भएको आगलागीबाट करिव ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
मंगलबार बिहान ९ बजेतिर झापा गौरीगंज गाउँपालिका वडा नं ६ देवकोटा टोल बस्ने कृष्ण राजवंशीको घरमा आगलागी भएको हो ।
टिनको छाना भएको, इटा र सिमेन्टको गारो भएको राजवंशीको ५ कोठे पक्की घरमा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो । आगलागीबाट राजवंशीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
उनको घरभित्र रहेको नगद ५ लाख ५० हजार, साढे ३ तोला सुन, चाँदी ५० तोला, अन्नपात, काठ, लत्ताकपडा, भाडावर्तन र कागजपत्र गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै सोही घरमा डेरा गरी बस्ने मेघनाथ राजवंशी र मोहन दासको पनि क्षति भएको छ । गौरीगंज गाउँपालिका ६ घर भई सोही घरमा डेरा गरी बस्ने लेखापढी व्यवसायी राजवंशीको कोठाभित्र रहेको नगद १० हजार, सुन २ तोला, चाँदी ७ तोला, अन्नपात, लत्ताकपडा, भाडावर्तन, कागजपत्र, नागरिकता ५० वटा, धनीपुर्जा ४० वटा जलेर नष्ट भएको हो ।
उनको ४ लाख बराबरको क्षति भएको जनाइएको छ । त्यस्तै गौरीगंज गाउँपालिका ६ घर भई सोही घरमा डेरा गरी बस्ने दासको कोठाभित्र रहेको चाँदी १० तोला ,अन्नपात, लत्ताकपडा, भाडावर्तन र कागजपत्र जलेको छ । उनको पनि करिव २ लाख बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय गौरीगंजको टोली ,गौरादह , दमक र कमलको दमकल र स्थानीयबासीको सहयोगमा उक्त आगो १०ः०५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
