काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोबर्द्धनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् ।
मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।
युवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताए ।
उनले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताए ।
