बिर्तामोड । बिर्तामोडको भद्रपुर सडक खण्डमा वृक्षरोपण गरिएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा सोमबार सडकको दुवै तर्फ फूलका विरुवा रोपिएको हो ।बिर्तामोडलाई हरित नगर बनाउने उद्धेश्यका साथ आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा ४ सय फूलका विरुवा तारजालीसहित व्यवस्थित तवरले
रोपिएको छ।
बिर्तामोड नगरपालिका र वडाहरुको सक्रियतामा यस अघि पनि भद्रपुर रोड, बिर्ताबजार लगायत आसपासका क्षेत्रमा वृक्षरोपण गरिएको थियो । सडकको बीच भागमा रहेको डिभाइडर लगायत कतिपय स्थानमा रोपेका फूलका विरुवाहरु भने हुर्किसकेका छन् ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले आ-आफ्नो टोल, क्षेत्रमा विरुवा रोप्न सबैलाई आग्रह गरिन् । उनले शहरी सौन्दर्यताका साथै वातावरण सन्तुलन कायम राख्नको लागि पनि वृक्षरोपण आवश्यकता रहेको बताइन् । रोपेका विरुवा हुर्काउने जिम्मेवारी नागरिकको पनि रहेकोले रेखदेख गर्न स्थानीयलाई आग्रह गरिन् ।
हुर्किसकेका विरुवा उखेल्ने, हाँगा भाँच्ने लगायतका क्रियाकलाप हुनेगरेको पाइएकोले यसो नगर्नसमेत आह्वान गरिन् ।
वृक्षरोपण कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराई, इन्चार्ज अम्बिर लिङदेन, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी प्रकाश विष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, जनप्रतिनिधिलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
