झापा । झापाको बिर्तामोडमा जुत्ता चप्पल मेला लाग्ने भएको छ । नजिकिँदै गरेको चाडपर्वको अवसरमा ‘दशैं महोत्सव तथा जुत्ता चप्पल मेला’ आयोजना गर्न लागिएको हो ।
‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आगमी भदौ २५ देखि असोज २४ गतेसम्म बिर्तामोडस्थित सिटी सेन्टरमा मेला आयोजना गर्न लागिएको आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।
सिटी सेन्टर बिर्तामोडको आयोजना तथा बिर्तामोड नेपाली जुत्ता घरको सह–आयोजनामा मेला आयोजना गर्न लागिएको आयोजक संस्थाका दिपेन्द्र राउतले जानकारी दिए ।
स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डलाई आम उपभोक्तामाझ पुर्याई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले बताए ।
संयोजक उपाध्यायका अनुसार महोत्सवमा २५ स्टल रहने छन् ।उनले महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल कम्पनी र ब्राण्डहरु बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज, क्रस रोड सुज गरी ५ वटा कम्पनीका १० भन्दा बढी ब्राण्डका जुत्ता चप्पल उपलब्ध हुने बताए ।
मेलामा दशैं तिहार लक्षित नयाँ डिजाइनका स्पोर्टस् सुज, क्याजुअल सुज, पाटी सुज, स्कुल सुज, फुटबल, फुटसलका सुज र बालबालिकाका सुजहरु उपलब्ध हुने पनि आयोजकका नानीराज घिमिरेले बताए ।
मेला अवधिभर न्यूनतम् १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने संयोजक उपाध्यायले जानकारी दिए । उनका अनुसार हरेक दिन जुत्ता खरीदमा फेसबुक लाइक र शेयर गरेमा २ प्रतिशत क्यास ब्याक समेत दिइनेछ । त्यस्तै पर्वको अवसरमा लक्की ड्र कुपनसमेत उपलब्ध गराइने उनले बताए ।
