झापा । झापाको अर्जुनधारा–१ साधुटारस्थित शंकराचार्यपीठमा सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग आयोजना हुने भएको छ।
शंकराचार्यपीठमा आगामी माघ १ गतेदेखि ११ गतेसम्म सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग आयोजना हुने भएको हो।
१५१ जना पण्डित वरण भइ आयोजना हुने महायाग सम्पन्न गर्न अनुमानित दुई करोड रुपैयाँ खर्च लाग्ने शंकराचार्यपीठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए।
दाताहरुको दान र सहयोगबाट स्रोत जुटाउने लक्ष्य लिएको समितिले महायागबाट बचत भएको रकमले शंकराचार्यपीठ अन्तर्गत रहेको शंकराचार्य वेदवेदाङ्ग संस्कृत पाठशाला (गुरुकुल)को संरक्षण गर्ने उद्देश्यले सञ्चालित ११ करोड अक्षयकोष स्थापना गर्ने महाअभियानलाई सहयोग पुग्ने अध्यक्ष खतिवडाले बताए।
भगवान शिवको पूजा आराधना, अभिषेकले सबै दुःख नष्ट हुने, सुख प्राप्ति हुने र अन्त्यमा मुक्ति प्राप्त हुने हुँदा कोशी प्रदेशमै पहिलोपटक आयोजना हुन लागेको महायागको माध्यमबाट सबैको कल्याण हुने समितिका अध्यक्ष खतिवडाको दाबी छ।
शंकराचार्यपीठ परिसरमा हुने महायाग यज्ञस्थलको शुक्रबार भूमिपुजन गरिएको छ।
शंकराचार्यपीठका संस्थापक एवम् प्रमुख संरक्षक केदारनाथ खतिवडाको नेतृत्वमा भएको यज्ञस्थलमा भूमिपूजन सम्पन्न भएपछि सुनको फालीजडित हलोबाट सो क्षेत्रमा सांकेतिकरुपमा जोतिएको थियो।