काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताएका छन् । उक्त निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेका छन् ।
सरकारी अस्पतालमा २०४८ सालदेखि दरबन्दी थप नभएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा न्यून रहेको डा. तिवारीले बताए ।
स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको तर नेपालमा सार्वजानिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु अवैज्ञानिक भएको संघको ठहर छ ।
