काठमाडौँ । मर्स्याङ्दी बस दुर्घटनामा ज्यान गुमाएका भारतीय पर्यटकको शव शनिवार भारत पठाइएको छ ।
भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको हो । चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको छ ।
शुक्रवार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।
घाइतेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । २७ जना मृतकको शव भने पोस्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो ।
शनिवार भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले काठमाडौं आएर घाइतेहरुसँग भेट गरेकी थिइन् । त्यसपछि भरतपुर गइ शव जिम्मा लिएर भारत लिएर गएकी हुन् ।
Facebook Comments Box
