काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान शुरु गरेको छ ।
स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाई अभियान शुरु गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रवार घर/कार्यालय सरसफाई गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग समेत आग्रह गरेको हो ।
शुक्रवार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरु मिलेर मन्त्रालय सरसफाईमा जुटे ।
मन्त्रालयबाट शुरु गरिएको अभियान शहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्याउने लक्ष्य मन्त्रालयको छ । अभियानका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरुलाई हेर्दा यस वर्ष संख्यात्मक रुपमा डेंगुको संख्या कम देखिए पनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाई अभियान शुरु गरेको बताए ।
उनले डेंगुको नियन्त्रण र न्यूनीकरणका लागि गत हप्तादेखि नै संघीय मन्त्रालय र मातहत रहेका कार्यालयमा शुक्रवार सरसफाई अभियान शुरु गरेको बताए ।
उनले पानी जम्मा हुने भाँडा घोप्ट्याउने, ओसिलो ठाउँ हुन नदिने गर्न सुझाव दिए । उनले भदौ ६ गते सम्बन्धित समिति र सात प्रदेशकै स्वास्थ्यमन्त्रीसँग बैठक राखेर सातै प्रदेशमा अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने पनि बताए ।
हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रवार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाईको अभियान चलाउन आग्रह गरे ।
