काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
शुक्रवार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिले सहकारीको छानविनका लागि निरन्तर काम गरिरहेको भन्दै समयमा नै सम्पन्न गर्ने जानकारी दिए।
उनले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताए। उनले कारागारमा रहेकाहरुलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको बताए।
समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिए पनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्राचार गरेको उनले बताए। उनले सरकारबाट केही जानकारी नआएको बताए।
उनले २१ जना विदेशमा रहेका सहकारी वचत अपचलन गरेको आरोपमा छानविनका लागि जरुरी रहेकाले जुनसुकै देशमा भए पनि समितिले समयमा नै छानविनको लागी ल्याउन सरकारसँग आग्रह गरेको बताए।
उनले समितिले आगामी एक गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षहरुसँग बयान लिने कार्य सक्ने योजना रहेको जानकारी दिए ।
उनले कारागारमा करिव ३ सय जना रहेकाले सबैलाई सोधपुछ गर्न सम्भव नभएको भन्दै प्रतिनिधि मुलुक रुपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्नेगरी नामावली तयार गरेर सोधपुछको काम भइरहेको बताए।
उनले समितिले प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको बताए ।
