झापा । तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका एक थुनुवाको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मृत्यु भएको छ।
बिरामी भएर धुलावारीको आम्दा अस्पतालमा भर्ना गरिएका मेचीनगर ७ का २८ वर्षीय झकबहादुर खड्काको त्यही मृत्यु भएको हो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।
खड्काको स्वास्थ्यमा असहज भइ आम्दा अस्पताल धुलाबारी लगिएकोमा उपचारको क्रममा १:५५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए।
साउन १३ गते बिहान ९:४५ बजे मेचीनगर नगरपालिका वडा नं.६ पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकले पोका पारेर बाँया हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो।
उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागुऔषध मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने ३० वर्षीय खडगबहादुर दर्जीले भारतबाट खरिद गरि काँकरभिट्टासम्म पुर्याई दिनु भनी दिएर पठाएको भन्ने खुलेको थियो।
मे.२ प. ८५४१ नम्बरको मोटरसाइकलसहित दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा राखिएको थियो।
