झापा- झापाको बिर्तामोड नगरपालिकाले कृषकले उत्पादन गरेका, विषादी नभएका वा न्यून विषादी भएका, खान योग्य तरकारी सुलभ मूल्यमा उपभोक्तालाई बिक्री गर्न तरकारी संकलन तथा बिक्री केन्द्रहरू स्थापना गर्न थालेको छ।
‘पारीको होइन, बारीको खाउँ’ भन्ने नारा लिएर नगरपालिकाले तरकारी संकलन तथा बिक्री केन्द्रहरू स्थापना गरिरहेको छ। समुदायले नै तरकारीको खरिद तथा बिक्रीदर निर्क्योल गरेर केन्द्रहरू सञ्चालन गरिने नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कँडरियाले जानकारी दिए।
उनले भने, ‘कृषकबाट तरकारी खरिद गर्ने मूल्य कृषकहरूकै समूहले गर्छ। बिक्री गर्ने मूल्य केन्द्र सञ्चालन गर्ने समितिले गर्छ।’
बजारहरूमा पाइने तरकारीमा विषादीको मात्रा कति छ भन्ने ठेगान नहुने भएकाले स्थानीय सरकारको सहयोगमा स्थापना गरिएका बिक्री केन्द्रहरूबाट बिक्री गरिने तरकारी खानयोग्य हुने उनले बताए। उनले भने, ‘हामी विषादी मापन गरेर खानयोग्य तरकारी मात्र बिक्रीमा राख्छौं।’
नगरपालिकाको वडा नम्बर ५ स्थित तमुटोल र पाथिभरा टोलमा बिक्री केन्द्रहरू स्थापना गरिसकिएको छ। ती बिक्री केन्द्रहरूमा राखिने तरकारीहरू बिर्तामोड नगरपालिका क्षेत्रका कृषकबाटै खरिद गरिने नगरपालिका कार्यालयले जनाएको छ। बजारको मागका आधारमा अन्य पालिका तथा जिल्लाका कृषकबाट पनि तरकारी खरिद गर्न सकिने नगरपालिकाले जानकारी दिएको छ।
बुट्टाबारी, गरामनी, चारपाने र सैनिकबजारमा संकलन तथा बिक्री केन्द्र र कृषिथोक बजारमा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ। बिक्री केन्द्रहरूले भारतमा उत्पादन गरेका तरकारी खरिद-बिक्री नगर्ने कँडरियाले बताए।
बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्षको योजना अनुसार तरकारी बजार व्यवस्थापन कार्यक्रम अघि बढाएको हो। बिर्तामोडमा १ सय १७ जना व्यवसायीक तरकारी कृषक रहेका छन्।


