झापा । झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालले अस्पतालका संस्थापक कोषाध्यक्ष दिवंगत ज्ञानुराम प्रसाईंको तेस्रो स्मृति दिवस मंगलबार स्मृति सभाको आयोजना गरी मनाएको छ।
नेकपा एमाले बिर्तामोड नगरका तत्कालीन अध्यक्षसमेत रहनुभएका प्रसाईंको तीन बर्ष अघि आसर २५ गते चारआली चन्द्रगढी सडकमा पर्ने देवकोटामा कार दुर्घटनामा परी निधन भएको थियो।
अस्पताललाई एक विघा जग्गा दान दिएका प्रसाईंको सम्झनामा मनमोहन मेमोरियल सामुदायिक अस्पतालले मंगलबार स्मृति सभाको आयोजना गरेको हो। स्मृति सभामा बोल्दै अस्पतालका अध्यक्ष नरेश खरेलले प्रसाईंले अस्पतालका लागि पुर्याएको योगदान अतुलनीय रहेको बताए।
आफ्नै भवनमा अस्पताल सञ्चालन गर्ने प्रसाईंको योजना सफल बनाउन सञ्चालक समिति लागिपरेको उनले बताए। आगामी आर्थिक बर्षमा अस्पतालको आफ्नै भवन निर्माण कार्य थालनी हुने खरेलले बताए।
अस्पतालका उपाध्यक्ष रविन कोइरालाले प्रसाईंको निधनले पार्टी तथा अस्पतालले ठूलो क्षति व्यहोर्नु परेको बताए। स्मृति सभालाई सम्बोधन गर्दै अस्पताल सञ्चालक समितिका सचिव रोमनी भट्टराईले दिवंगत प्रसाईंले अस्पतालका लागि गरेको योजना तर्जुमाका आधारमा अस्पताल सञ्चालन भइरहेको जानकारी दिए।
उनले यही भदौ महिनादेखि सिटी स्क्यान सेवा अस्पतालमा सञ्चालन हुने बताए। सभालाई सम्बोधन गर्दै अस्पतालका मेडिकल डाइरेक्टर तथा स्त्रीरोगका वरिष्ठ विशेषज्ञ डा. एकराज गौतमले प्रसाईंले देखाएको बाटो सबै हिँड्नु पर्ने बताए।
स्मृति सभामा दिवंगत प्रसाईंकी अर्धांगिनी बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको पनि उपस्थिति रहेको थियो। सभापछि अस्पतालमा भर्ना भएका विरामीहरूलाई फलफूल वितरण गरिएको थियो।
