काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताएका छन्।
बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लागुऔषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महशुस गरेको बताए ।
उनले लागुऔषधको दुर्व्यसनीमा युवाहरुलाई फसाइदिइ सकेपछि त्यो देशको दुर्गति शुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए । उनले देशमा रोजगारी नपाएर विदेश गएका कतिपय युवाहरु लागुऔषधको दुर्व्यसनी फसेको बताए ।
उनले लागुऔषधको दुर्व्यसनी नियन्त्रणका लागि चलिरहेका अभियानहरुमा पनि कतिपयले इमान्दारितापूर्वक काम नगरेको भन्दै गृह मन्त्रालय नरममा अति नरम र गरममा अति गरम हुने बताए । लागुऔषध बेचबिखन गर्नेहरुलाई सरकारले कुनै पनि हालतमा नछोड्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले सिनेमामा देखाए झैँ लागुऔषधको प्रयोग नगर्न आग्रह गर्दै जीवन तीन घण्टाको सिनेमा नभएको बताए । आफ्ना अभिभावकको दुःखलाई हेरेर आफ्ना व्यवहार अघि बढाउन आग्रह गरे ।
