काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/०८२ मौद्रिक नीति खुला भएर लचिलो मौद्रिक नीति ल्याउने बताएका छन्।
आइतवार काठमाडौंमा भएको इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो समिक्षामा नै लचिलो मौद्रिक नीति अपनाउँदै आएको बताए ।
उनले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरुसँग आवश्यक छलफलको माध्यमबाट खुला मौद्रिक नीति ल्याउने बताए । उनले मौद्रिक नितिका विषयमा छलफल शुरु गरेको भन्दै कर्जा र ब्याजदर धेरैको चासो रहेको बताए ।
गभर्नर अधिकारीले विगत एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा एकोमोडेटिप पोलिसी एडप्ट गरिरहेको बताए। उनले नेपालको लगानी,पुँजीगत खर्च उत्पादनशिल नभएको बताए ।
उनले लगानी उत्पादनशील बनाउनको लागि राष्ट्र बैंकले लिएका नीति अनुसार बैंकको लगानी सही ठाउँमा सदुपयोग गर्न आवश्यक रहेको बताए ।
