झापा । जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
न्यायाधीश यदुराज शर्माको एकल इजलासले हिजो अध्यक्ष सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषामा थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको हो ।
प्रहरी कार्यालय धनुषाले अध्यक्ष सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको ‘फरेन्सिक’ परीक्षणका लागि पठाइएको र त्यो रिपोर्ट आउन बाँकी रहेकाले थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला सरकारी वकिलमार्फत् अदालतमा मागसहित पेस गरेको थियो ।
अध्यक्ष सिरोहियाको पक्षमा अधिवक्ता विनोद शर्मा, रमण कर्ण, दिनेश त्रिपाठी तथा किशोर पौडेलले बहस गरेका थिए । उच्च रक्तचाप र मुटुमा समस्या भएपछि सिरोहिया काव्या अस्पताल जनकपुरमा भर्ना भएका छन् ।
