काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार प्रकाशित गरेको विषयसँग जोडेर प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै सत्तारूढ र अन्य दलका नेताहरूले विरोध जनाएका छन् ।
नागरिकताको विषयमा आवश्यक सोधपुछ र अनुसन्धान नगरी हठात् पक्राउ गर्नुले सरकारको नियतमाथि प्रश्न उब्जिएको उनीहरूले बताएका हुन् ।
सरकारको नेतृत्व गरिरहेको माओवादीका सचिव राम कार्कीले कान्तिपुरका अध्यक्ष सिरोहियालाई आवश्यक सोधपुछसमेत नगरी पक्राउ गरिएकाले सरकारको नियतप्रति आशंका उत्पन्न भएको बताए ।
सिरोहियालाई पक्राउ गर्ने निर्णय अपरिपक्व भएको उनको भनाइ छ । ‘जुन विषयमा अभियोग लगाएर पक्राउ गरियो, यो परिस्थितिमा तुरुन्तै पक्राउ गर्ने अवस्था देखिँदैन,’ उनले भने, ‘नागरिकतामा प्रश्न उठेपछि बयान नै नलिई पक्राउ गरेकाले सरकारप्रति आशंका उठेको छ ।’
कार्कीले सहकारीको रकम हिनामिनाका विषयमा कान्तिपुरले निरन्तर खबरदारी गरिरहेका बेला अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु ‘कुखुरा हराउनु र स्याल कराउनु’ जस्तै भएको बताए ।
स्वयं गृहमन्त्रीले दोस्रो पटक नागरिकता लिँदा प्रक्रिया नपुर्याए पनि पक्राउ नगरिएको उदाहरण कार्कीले दिए । ‘नागरिकतामाथि प्रश्न उठ्दा कसैलाई पक्राउ गर्ने, कसैलाई नगर्ने कुरा कानुनी हिसाबले समान व्यवहार भएन,’ उनले भने, ‘नागरिकताका विषयमा गृहमन्त्रीले पद छाड्नुपर्यो, त्यसअघि गिरफ्तार भएनन् ।’
बेथिति, अनियमितताप्रति खबरदारी गरेको भरमा मिडियामाथि हात हाल्नु गलत हुने कार्कीको भनाइ छ । ‘बेथितिप्रति खबरदारी गरिरहेका मिडियाप्रति हात हाल्दा १० पटक सोच्नुपर्छ,’ उनले भने, ‘यसमा सरकारको परिपक्वता देखिएन ।’ कान्तिपुर दैनिकले छापेको छ।
