झापा । कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु भएको छ ।
महोत्सवको आइतवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका हुन् । महोत्सव जेठ ११ गतेसम्म झापा र विराटनगरमा सञ्चालन हुने आयोजक प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ ।
कोशी प्रदेशका झापा, इलाम, पाँचथर लगायत विभिन्न जिल्लाहरुमा रहेका प्राकृतिक रमणीयस्थलहरुमा विगतदेखि नै बाक्लोरुपमा चलचित्र छायाङ्कन हुँदै आएका छन् ।
विभिन्न भाषा र जातिगत क्षेत्रीय चलचित्रहरु पनि कोशी प्रदेशमा छायांकन तथा निर्माण हुने गरेका छन् । कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका कतिपय केन्द्रिय स्तरका चलचित्रका केही भाग, गीत संगीतका दृश्य लगायत कथाले मागे अनुरुपका जातीय, भाषीय क्षेत्रका आधारमा समेत छायाँकन हुने गरेको छ ।
तर त्यो हिसावले चलचित्र क्षेत्रसँग सम्बन्धित अन्य गतिविधिहरु शुन्यजस्तै रहेकाले प्रदेशमा पहिलो पटक चलचित्र महोत्सवको आयोजना गरिएको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले बताए ।
उद्घाटन कार्यक्रम विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । महोत्सवको व्यवस्थापन नेपाल चलचित्र संघ कोशी प्रदेशले गरेको छ ।
