झापा । झापाको गौरीगञ्ज गाउँपालिका १ स्थित हुलाकी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना गंभीर घाइते भएका छन् ।
तीनजना सवार मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री गौरीगञ्ज –३ बस्ने अन्दाजी ४० वर्षीय अकालु माझीको मृत्यु भएको हो । राति सवा ९ बजेको समयमा गौरीगञ्ज १ स्थित हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४प ४२२४ नं को मोटरसाइकलले बिपरित दिशाबाट जाँदै गरेको साईकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट साईकलयात्री माझीको टाउको तथा शरीरको बिभिन्न भागमा चोट लागेर गंभीर घाइते भएकोमा उपचारका लागि बीएण्डसी अस्पताल ल्याउँदा ल्याउँदै उनको बाटैमा मृत्यु भएको हो ।
त्यस्तै मोटरसाइकलमा सवार गौरीगञ्ज १ बस्ने अन्दाजी ३५ वर्षीय खोदनारायण महतो , अन्दाजी २५ वर्षीय रतनसिंह राजवंशी र अन्दाजी २२ वर्षीय विकास महतो गंभीर घाइते भएका छन् ।
घाइते खोदनारायणको बीएण्डसी अस्पताल बिर्तामोड , रतनसिंहको निम्स अस्पताल दमक र विकासको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकलमा तीनजना सवार रहेकोमा तीमध्ये चालक को हुन् भनेर नखुलेको, मोटरसाइकल र साईकल प्रहरी चौकी कुञ्जिवारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
