काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् ।
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बैंकहरुको ऋण लिने, कालोसूचिमा पर्ने र तिर्दिन भन्ने प्रवृत्ति अपराधिक प्रवृत्ति भएको बताए ।
उनले व्यवस्थामाथि प्रश्न उठाउने, व्यवस्था नै मन परेन भनेर व्यवस्थाका सानातिना कमजोरी, राजनीतिक प्रणालीका सानातिना कमजोरी खोतलेर त्यसलाई नै सबैपक्ष जस्तो बनाएर समाजमा एउटा व्यवस्था र नेतृत्वप्रति अनास्था पैदा गर्ने प्रवृत्तिसँग पनि आफूहरुको समर्थन नरहने बताए ।
उनले धार्मिक, सामाजिक अतिवाद, मिलेर रहेको समाजलाई विखण्डन गर्ने प्रवृत्तिहरु, आफ्ना केही स्वार्थहरु पूरा गर्ने, आफ्ना महत्वकांक्षाहरु अगाडि ल्याउने प्रवृत्तिसँग पनि सरकारले सहमति नगर्ने बताए । उनले काम नगर्ने र सजिलै धनी बन्न खोज्ने प्रवृत्तिहरुसँग सरकारले सहमति गर्न नसक्ने बताए ।
मन्त्री पुनले राज्य प्रणालीमा भएको कमीको समीक्षा गर्न आफूहरु तयार रहेको बताए । आफू अर्थमन्त्री रहँदासम्म जनतामा आशा जगाउने काम गर्ने उनले दाबी गरे ।