काठमाडौँ । कांग्रेसभित्र चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा चर्केको अन्तरद्वन्द्व सत्ता गठबन्धनकै गलपासोका रूपमा देखिएको छ । महामन्त्री गगन थापाले अबको चुनावमा गठबन्धन गर्न नहुने प्रस्ताव मंगलबारको महासमिति बैठकमा लैजाने अडान लिएपछि सभापति शेरबहादुर देउवा सशंकित बन्न पुगेका छन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माका अनुसार पार्टी पदाधिकारी र पूर्वपदाधिकारीबीच सोमबार राति भएको छलफलमा थापाको प्रस्तावमा मध्यमार्गी बाटो खोज्ने समझदारी बनेको छ । महामन्त्री थापाले यसअघि चुनावी गठबन्धनका विषयमा राखेको प्रस्तावको सारलाई मर्न नदिईकन सांगठनिक प्रतिवेदन परिमार्जन हुने शर्माले बताए । उनका अनुसार परिमार्जन गरिने प्रस्तावमा ‘योभन्दा अघिको गठबन्धन बाध्यता थियो भन्ने मनन गर्दै कांग्रेस दृढ संकल्प गर्छ कि, हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौं, रूख चिह्नमा मात्रै मतदान गर्नेछौं’ भन्ने उल्लेख हुनेछ ।
यसअघि थापाको प्रस्तावमा ‘हाम्रो निर्वाचन प्रणालीको सीमाले गर्दा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि तालमेल गर्ने कुरा स्वाभाविक हुन सक्छ तर निर्वाचनपूर्वको गठबन्धन संस्कृति लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै पूर्वगठबन्धन (प्रिइलेक्सन एलायन्स) गरेर अब कहिल्यै मतदातालाई अन्य कुनै दलको चुनाव चिह्नमा मत हाल्ने अवस्था सिर्जना गरिने छैन’ भन्ने उल्लेख थियो ।
थापाले चुनावी गठबन्धन गर्ने भनेर प्रस्ताव लैजाने अडान नछाडेपछि संस्थापन पक्षका केही नेताले केन्द्रीय कार्यसमिति बैठक बोलाएर उनको प्रस्तावमाथि मतदान गर्नुपर्नेसम्मको दबाब दिएका थिए । त्यसो गर्दा महासमिति बैठक ध्रुवीकरणमा जाने भन्दै संस्थापन पक्षकै अरू केही नेताले मध्यमार्गी बाटो खोजेकाले सहमतिमा जान सहज भएको सहभागी एक पदाधिकारीले बताए । थापाले परिमार्जन गर्न तयार भएको भाषामा पनि रूख चिह्नमा मतदान गर्ने विषय हटाउन दबाब दिइएको थियो । तर, उनले अडान नछाड्ने संकेत पाएपछि सभापति देउवाले त्यसलाई स्विकारेका थिए ।
महामन्त्री शर्माले अब भने महासमितिमा चुनावी गठबन्धनमा जानुपर्छ र जानु हुँदैन भन्ने दुवै मत महासमितिमा जाने बताए । ‘गगनले राखेको प्रस्तावको मूल मर्मलाई मर्न नदिईकन हामीहरू सहमतिमा पुगेका छौं,’ उनले भने, ‘भोलि (मंगलबार) निर्धारित समयमै महासमिति बैठकमा पार्टीको सहमतिअनुसार दस्ताबेजहरू प्रस्तुत हुनेछ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
