भद्रपुर । महाभारतकालिन इतिहास बोकेको धार्मिक एैतिहासिक तथा पर्यटकीय स्थल किचकबध परिसरमा निर्माणाधिन माता तिर्थ विष्णुपादुका मन्दिरको ८०% निर्माण कार्य सम्पन्न भएको छ ।

२०६९ साल पुस १९ गते निर्माण सुरु भएको उक्त मन्दिरको हालसम्मको लागत मूल्य १३ लाख रुपैयाँ रहेको छ । ब्राहमण समाज नेपाल झापाको अगुवाइमा मन्दिर निर्माणका लागि रकम संकलन कार्य भएको थियो ।
काशीनाथ घिमिरेको अध्यक्षतामा ११ सदस्यीय विष्णुपादुका मन्दिर निर्माण समिति गठन भइ निर्माण कार्य अघि बढेको थियो । शान्ति मन्त्रालयबाट दुई लाख २६ हजार र संस्कृति मन्त्रालयबाट दुईलाख रुपैयाँ अनुदान सहयोग प्राप्त भएको थियो ।
त्यस बाहेकका अपुग सबै रकम स्थानीय बासी उद्योगी व्यापारीहरुबाट संकलन गरीएको मन्दिर निर्माण समितिका अध्यक्ष घिमिरेले बताए । उक्त मन्दिर निर्माणको लागि तीन कठ्ठा जग्गा स्गानीय स्वर्गीय देव प्रसाद अधिकारीले प्रदान गरेका थिए ।
यस वर्ष पनि पुस १४ गते परेको पौखे औंसीमा पितृ तिर्थ श्राद्धका लागि आउने भक्तजनको संख्या बढ्ने आशा लिएको निर्माण समितिले जनाएको छ । आफ्नै ठाउँमा यस्तो मन्दिर निर्माण हुँदा पितृ उदारका निम्ति टाडा जानु पर्ने झनजट नहुने भएकोमा आफूहरु खुशी भएको स्थानीय लोकनाथ अधिकारीले बताए ।