झापा । झापाको बिर्तामोडमा सञ्चालित कनकाई अस्पतालले एक बर्षमा करिब ५६ हजार बिरामीलाई बहिरङ सेवा दिएको छ ।
१७ वर्षअघि सञ्चालनमा आएको कनकाई अस्पताल प्रालिले गत आर्थिक वर्षमा ५५ हजार ८३४ जना बिरामीलाई बहिरङ सेवा दिएको अस्पतालले जनाएको छ ।
अस्पतालको शनिवार भएको १७ औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार बालबालिका, वयस्क तथा ज्येष्ठ नागरिक गरी करिब ५६ हजार जनालाई स्वास्थ्य सेवा दिइएको हो ।
प्रबन्ध निर्देशक युवराज डाँगीद्वार प्रस्तुत प्रतिवेदनमा अस्पतालले ३९ हजार ८९२ जनालाई स्वास्थ्य बीमाअन्तर्गत सेवा दिएको छ ।
अस्पतलले सबै प्रकारका ल्याबमा चार लाख ९६ हजार ६७० जना बिरामीको परीक्षण गरेको जनाएको छ । एक वर्षको अवधिकमा जेनेरल वार्डमा पाँच हजार २१३ र सघन उपचार कक्ष (आइसियु) मा २८३ जनाको उपचार भएको थियो ।
शल्यक्रियाका लागि प्रख्यात कनकाई हस्पिटलले गत वर्ष सामान्य शल्यक्रिया ६५७ वटा र गम्भीर शल्यक्रिया एक हजार ४०४ जटा तथा महिला तथा प्रसूतिको शल्यक्रिया २२० वटा गराएको डाँगीले बताए ।
अस्पतालका अध्यक्ष डक्टर प्रेमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी, कम्पनी सचिव तथा कानुनी सल्लाहकार सोमबहादुर राई, अस्पतालकी मेट्रोन निशा विक लगायतले शुभकामना व्यक्त गरेका थिए ।
अस्पतालका सञ्चालक तथा संस्थापक प्रबन्ध निर्देशक महेन्द्रबहादुर राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्वसञ्चालक फणीन्द्र चापागाईंले गरेका थिए ।
