काठमाण्डौं। आज इसाई धर्मावलम्बीहरुको महान चाड क्रिसमस धुमधामका साथ मनाइँदैछ । क्रिश्चियन धर्मका संस्थापक यशु ख्रीष्टको जन्मोत्सव डिसेम्बर २५ अर्थात आज परेकाले देशभरका गिर्जाघरमा विविध कार्यक्रम आयोजना गरीन्छ ।

दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
नेपालमा ४ सय वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजले जानकारी दिनुभयो । हाल नेपालमा आठ हजार ५०० गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेकाछन् । क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ ।
क्रिसमसको अवसर पारेर महासङ्घले आइतबार दिउँसो राष्ट्रिय नाचघरमा महोत्सव कार्यक्रम राखेको छ ।
यसैबिच इसाई धर्मावलम्बीले मनाउने ‘क्रिसमस डे’को उपलक्ष्यमा सरकारले आजकालागि सार्वजनिक विदा दिएको छ । आज नेपालभर तथा विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगहरूमा लागू हुने गरी सरकारले पर्व विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
सूचना विभागले जारी गरेको सार्वजनिक बिदाको सूचीअनुसार क्रिसमसमा क्रिस्टियन धर्मावलम्बीका लागि मात्र सो विदा दिने उल्लेख छ । शनिबारको मन्त्रीस्तरीय निर्णयले सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी गराउनुभयो ।