काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १५ लाख ५५ हजार ५ सय ५५ रुपैँया सहयोग गरेको छ । जुन बस्ती गत वर्षको विनाशकारी भुकम्पका कारण ध्वस्त भएपछि धुर्मुस सुन्तली अहिले नमुना बस्ती बनाउने गरी पुनःनिर्माणमा जुटेका छन् ।
राजधानीको एक होटलमा पत्रकार सम्मेलन गर्दै सिटी एक्सप्रेसले फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । वैदेशीक रोजगारमा रहेका नेपालीको कमाई सुरक्षित रुपमा परिवार र आफन्तसम्म ल्याउने काम गरिरहेको सिटी एक्सप्रेसले सामाजिक सहयोग स्वरुप सो रकम फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई प्रदान गरेको छ । एक जोडी कलाकारले उदाहरणीय काम गरीरहेकाले उनीहरुलाई थप आँट र हौसला स्वरुप संस्थागत रुपमा सिटी एक्सप्रेसले आर्थिक सहयोग गरेको संस्थाका प्रवन्ध निर्देशक चन्द्र टण्डनले बताएका छन् । धुर्मुस सुन्तलीले वातावरणमैत्री, बालमैत्री एवं अपाङ्गमैत्री सिटी बनाउने योजनाका साथ अघि बढेकाले सिटी एक्सप्रेसले पनि सहयोग गरेको उनको भनाई छ ।
गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि चार करोड भन्दा बढी अनुमानीत लागत लाग्ने धुर्मुस सुन्तली फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) बताइन् ।