काठमाण्डौं । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप आधुनिकीकरण गर्दै लैजान निकुञ्जभित्र अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरिएको छ ।

यसअघि सामान्य केवलमार्फत ठाउँठाउँमा सिसी क्यामरा जडान गरेको निकुञ्जले त्यसलाई आधुनिक प्रविधिमा लैजान ५२ किलोमिटर अप्टिकल फाइबर जडान गर्न लागेको जनाएको छ ।
निकुञ्जको मुख्य कार्यालय कसराबाट सौराहासम्म २० किलोमिटर, कसरा–भिम्ले–मेघौली २० किलोमिटर अप्टिकल फाइबर बिछ्याउन सुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।
त्यसैगरी, नवलपरासीको अमलटारीबाट पूर्वतर्फ ६ किलोमिटर र पश्चिमतर्फ ६ किलोमिटर अप्टिकल फाइबर बिछ्याइने कँडेलले बताउनुभयो ।
जडान गरिएका सिसी क्यामरा वन र वन्यजन्तु संरक्षणमा प्रभावकारी भएपछि अप्टिकल फाइबर नै बिछ्याएर निकुञ्जका विभिन्न संवेदनशील क्षेत्रमा सिसी क्यामरा जडान गर्न लागिएको हो ।