झापा । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्ने भएको छ।
संघले हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र आवश्यक कारवाही गर्न अल्टिमेटम दिँदा पनि कारबाही नगरेको भन्दै विरोधमा आज आकस्मिकबाहेकका सेवा बन्द गरेको हो। स्वास्थ्य संस्था बन्द गर्दा सेवाग्राहीमारमा पर्ने भएका छन्।
‘नेपाल चिकित्सक संघबाट भाद्र २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरूलाई कानूनी कारवाही गर्न माग गरिएको थियो । सो घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याएको हुनाले नेपाल चिकित्सक संघ बाध्यताबस भाद्र ३१ गतेदेखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य भएको जानकारी गराइन्छ’, संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गरिने उल्लेख छ ।
संघले जारी गरेको विज्ञप्ति भनिएको छ,‘बाध्यात्मक परिस्थितिमा घोषणा गरिएका आन्दोलनलाई पूर्ण रूपमा सफल तुल्याई संघका सम्पूर्ण मागहरूको कार्यान्वयन गराउनका लागि दबाब स्वरूप देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल तथा मेडिकल कलेजहरू, नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, सम्पूर्ण विशेषज्ञ समाजहरूलाई यसै विज्ञप्ति मार्फत यथोचित कार्यान्वयन गर्न गराउन सूचित गरिन्छ ।’
