धनकुटा । पूर्वको चर्चित पर्यटकीय स्थल भेडेटारमा पाँचौ खाना महोत्सव हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर होटल एशोसिएशन भेडेटारले आज पत्रकार सम्मेलन गरि पुस १६, १७ र १८ गते तिन दिनसम्म खाना महोत्सव गर्न लागेको जानकारी दिइएको होे ।

पर्यटकीय स्थल भेडेटारमा २०६८ साल देखि नियमित रुपमा खाना महोत्सव हुँदै आइरहेको छ । महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिने आयोजक समितिका संयोजक तथा भेडटार होटल एशोसिएसनका अध्यक्ष लिलाराज लावतीले बताए ।
यो पटकको महोत्सवमा आउने आगन्तुकहरुलाई प्याराग्याइडिङ, माउन्टेन वाइक र टुर प्याकेजको व्यवस्था गरिएको छ । महोत्सवमा १५ हजार अवलोकनकर्ता र २० लाख रुपैया वरावरको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको होटल आयोजकले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरुको सांगितिक प्रस्तुती पनि रहने छ । महोत्सव अवधिभर भेडेटारका होटलमा खाना र बस्न विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।