काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागले बुधबार बिहानै देखि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहेको जनाउँदै सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ । बुधबार दिउँसो देशभरको मौसम आंशिक देखि सामान्य बदली रहनेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण विभागको छ ।
भरे राति देशभरको मौसम आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका बाँकी अन्य स्थानका पहाडी भू–भागमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।
