इटहरी । सुनसरीको इटहरीमा पिकअप र मोटरसाइलक एकापसमा टोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ ।
पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्ल्यु बी ७३ इ ९११७ को पिकअप भ्यानसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल शुक्रबार राति एकापसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकलमा सवार चार जनामध्ये तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी १६ बस्ने करण चौधरी, सोही स्थानका शम्भु चौधरी र अनिनेश चौधरी छन् । कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति इटहरीको कान्छी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चार जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो ।
दुर्घटनामा प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । पिकअप चालक भारत दार्जिलिङका गोविन्द वरमुन प्रहरी नियन्त्रणमा छन् ।
