काठमाडौं । स्वतन्त्र कानून व्यवसायीहरुले सुन काण्डका मुख्य अपराधी बचाउने कार्य भएको भन्दै आक्रोशित बनेका छन् ।
शुक्रबार उक्त विषयलाई लिएर स्वतन्त्र कानून व्यवसायीहरुले महान्यायाधीवक्ताको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
कानून व्यवसायी यज्ञमणि न्यौपानेका अनुसार सुन काण्डका मुख्य अपराधी बचाउन र सोझा सीधा गरीबलाई थुनामा लिइ प्रहरीले यातना दिएर बयान लिने गरेको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।
उनले भने, ‘अनुसन्धान गर्दा प्रहरीले जथाभावी गर्ने र प्रतिवादीका वकिलहरुलाई नराख्ने, जो दोषी छ, उस्लाई उन्मुक्ति दिने, जो निर्दोष छ उसलाई सताउने काम गरेको छ । यसले गर्दा न्याय सम्पादन कार्यमा असहजता भयो । सुन १०० केजी, १५० केजी आउन थाले भरिया पक्राउ पर्न थाले ।’
त्यसैगरि कानून व्यवसायी कमलमणि पोखरेलले अनुसन्धान अधिकारी प्रहरी कार्यलय भित्र हुँदा निर्दोष व्यक्तिले पनि सजाय भोग्न पर्ने अवस्था आएको दावी गरे ।
