काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य घटेको छ । स्वचालित मूल्य प्रणाली अनुसार आइतबार मध्येरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटेको नेपाल आयल निगमले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
निगमले आज मध्य रातदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको छ । आइतबार पत्रकार सम्मेलन निगममा कार्यकारी निर्देशक उमेशप्रसाद खानीले सरकारले एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने र डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने निणर्य गरेको जानकारी दिए ।
उनले भने,‘निगमले लागत मूल्यको आधारमा डिजेलमा २ प्रतिशत, पेट्रोलमा २.५ प्रतिशत मात्र नाफा राखिने छ । आम उपभोक्ता र विशेष गरि गृहिणीहरूको हितलाई ध्यानमा राखि खाना पकाउने एल. पी. ग्यासमा निगमले कुनै मुनाफा नलिइ लागत मूल्य वमोजिम नै खुद्रा मूल्य राखिने छ ।’
उनले हवाई इन्धनको हकमा भने मूल्य समायोजन गर्ने अधिकार निगम संचालक समितिमा रहने पनि बताए । पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ र डिजेलमा प्रतिलिटर ४ रूपैयाँ घट्नेछ। एलपी ग्यासमा प्रतिसिलिण्डर १० रूपैयाँ घटाइएको छ।
