झापा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।
बिहीबार विश्वासको मत लिनका लागि बैठक बोलाइएको छ । बैठक अपराह्न १ बजे बस्ने तय भएको छ ।
कोशी प्रदेशमा सबैभन्दा धेरै सिट जितेर ठूलो दल बनेको एमालेको नेतृत्वमा सरकार बनेको थियो । तर, तत्कालिन एमाले माओवादी गठबन्धन टुटेपछि नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिदा संकटमा परेका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।
कोशी प्रदेश सरकार निर्माणका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । वर्तमान गठबन्धन सरकारमा रहेका चार दल नेपाली काँग्रेस,नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको गरि ४६ मत छ भने एमाले एक्लैको ४० सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ सिट रहेको छ ।
एमाले नेतृत्वमा रहेको एक मात्र प्रदेश सरकारमाथि विश्वासको संकट उत्पन्न हुँदा एमालेले राप्रपाको समर्थनमा कोशीमा सरकार जोगाउने प्रयत्न गरिरहँदा जसपा नेपालको निर्णयक समर्थन पाउने आशा राखेको छ ।
कार्कीलाई एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन् । तर, आवश्यक ४७ मत मध्ये एक मतको पूर्तिका लागि वर्तमान गठबन्धन समर्थक दल जनता समाजवादी पार्टी नेपाल (जसपा)ले महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।
जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा आफ्नो सरकार टिकाउन जसपा नेपालबाट विश्वासको मत पाउने अपेक्षा राखेका छन् ।
