काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र दिन निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले सम्पूर्ण प्रक्रिया पूरा गरेका धितोपत्र दलालहरुलाई अनुमतिपत्र दिन अर्थमन्त्रालयमार्फत नेपाल स्कट एक्सचेन्जलाई निर्देशन दिएको हो। यसअघि जेठ २९ गते समितिको बैठक बसेर लाइसेन्स दिन चलखेल भएको भन्दै प्रक्रिया रोक्न निर्देशन दिएको थियो।
मंगलबार धितोपत्र बोर्डका पदाधिकारीहरुसँगको छलफलपछि समितिले प्रक्रियासम्मत आवेदन आएकाहरुको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेले जानकारी दिए।
‘जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया सुरु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिने’ निर्णय सुनाउँदै चालिसेले भने।
धितोपत्र बोर्डले प्रक्रिया मिचेर लाइसेन्स दिएको भन्दै समितिमा उजुरी परेको थियो। सोही उजुरीमाथि प्रारम्भिक छलफल गदेै अनुमति पत्र दिने प्रक्रिया स्थगन गर्न भनेको थियो। समितिको उक्त निर्णयलगत्तै समितिले बोर्डलाई पत्र पठाएको थियो। तर समितिले विवरण माग्दामाग्दै बोर्डले ब्रोकरलाई लाइसेन्स दिएकोले शंका गर्ने ठाउँ उब्जिएको बताउँदै योग्यता पुगेका सबैलाई लाइसेन्स दिनुपर्ने बताएका थिए।
प्रतिस्पर्धाको नाममा लाइसेन्स बाँड्दा मापदण्ड पूरा नगरेको गुनासो बढेको भन्दै उनीहरुले त्यसो नगर्नसमेत बोर्डलाई सचेत गराएका छन्।
