काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहसचिव टेकनारायण पाण्डेको अदालतमा बयान सकिएको छ ।
पाण्डेले बुधवार जिल्ला अदालत काठमाडौंमा बयान दिएका थिए । पाण्डेले घटनाको सम्बन्धमा इन्कारी बयान दिएका छन् । बैंक खातामा जम्मा भएको रकमको सम्बन्धमा उनले ऋण बापत प्राप्त भएको बताएका छन् ।
पाण्डेले पाण्डेले नक्कली भुटानी शरणार्थीका नाममा असुल गरिएको रकम निजी सुरक्षा गार्ड धर्मराज शाहीमार्फत निजी बैंक खाता जम्मा गर्थे । धर्मराज नेपाल प्रहरीका बरिष्ठ सई हुन् ।
उनले आठ महिनाको अवधिमा एभेरेष्ट बैंकमा रहेको निजी खाता नं. ००१००१०५००००१८ मा आठ पटक रकम जम्मा गराएका थिए । त्यस्तै, हिमाल बैंकमा रहेको उनको अर्को निजी खाता नंं. ०२७०४६७२४७००१८ मा तीन पटक रकम जम्मा गराएका थिए । उनले धर्मराजमार्फत दुई वटा बैंक खातामा २ मंसिर ०७८ देखि ११ फागुन ०७८ सम्म ८४ लाख ९४ हजार ९७ रुपैयाँ जम्मा गरेका थिए ।
पाण्डेले उक्त रकम बिचौलिया मध्येकै केशव दुलाल, सन्देश शर्मा र सानु भण्डारीबाट लिने गरेका थिए । सोही क्रममा दुलालले एक करोड २४ लाख ५० हजार रुपैयाँ नगदै बुझेका थिए । धन्दाका सम्बन्धमा उनले मुख्य बिचौलिया केशव दुलालसँग एसएमएस(सर्ट मेसेज सर्भिस)मार्फत पनि बाक्लो कुराकानी हुने गर्थ्यो ।
सरकारी वकिल कार्यालय काठमाडौंले तयार गरेको प्रतिवेदनमा उल्लेखित एमएमएस अनुसार बिचौलिया दुलाललाई सचिव पाण्डेले क्याम्पभित्र र बाहिर रहेका नेपालीलाई शरणार्थी बनाउन आश्वास्थ तुल्याउँदै गरेको देखिन्छ । यसका लागि यूनसिएचआरसँग बैठक बस्ने र त्यसपछि सबै काम हुने जानकारी एसएमएसमार्फत पाण्डेले दुलाललाई दिएका छन् ।
तर, अदालतसँगको बयानमा उनले दुलालसँगको वार्ता पनि इन्कार गरेका छन् । उनले सवै वार्ता भावावेश आएर भएको बयान दिएका छन् । उनीसँगै सानु भण्डारी, गोविन्द्र चौधरी र रामशरण केसीले पनि अदालतमा बयान दिएका थिए । त्यसपछि पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको अदालतमा बयान भएको थियो । उनीहरुले पनि अदालतमा इन्कारी बयान दिएका छन् ।
गत १२ जेठदेखि पक्राउ परेका विरुद्धको बयान जिल्ला अदालतमा जारी छ । यसक्रममा पक्राउ परेका मध्ये मुख्य बिचौलिया केशव दुलाल, सागर राई, टंक गुरुङ, सन्दीप भण्डारी, लक्ष्मी महर्जनको बयान सकिसकेको छ । दुलाल र राईले १२ जेठमा बयान दिएको थिए भने, गुरुङ, भणडरी र महर्जनको १४ जेठमा बयान दिएका थिए । त्यस्तै, डा. राईले १६ जेठमा बयान दिएका थिए ।
घटनामा १६ अभियुक्त पक्राउ परेका छन् । १४ फरार छन् । अनुसन्धानको ६० दिनपछि अभियुक्त विरुद्ध अदालतमा मुद्या दर्ता भएको थियो । उनीहरु विरुद्ध लिखत किर्ते, राज्य विरुद्धको कसूर, संगठित र ठगि कसूर अन्तर्गत मुद्या चलाइएको छ ।
उनीहरु विरुद्ध नक्कली शरणार्थीका नाममा ठगी भएको भन्दै एक सय १५ पीडितले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुद्दामा २८ करोड ८४ लाख रुपैयाँ ठगि भएको भन्दै बिगो दाबी भएको छ ।
