विराटनगर । आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोशी प्रदेश सरकारले आग्रह गरेको छ ।
प्रदेशको नामको विरोधमा आन्दोलनमा उत्रिएका पहिचान पक्षधरलाई वार्तामा आउन औपचारिक रूपमा आग्रह गरेको हो ।
कोशी प्रदेश सरकारको तर्फबाट प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार वक्तब्य जारी गर्दै वार्तामा आउन आग्रह गरेका हुन् ।
‘शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजवुद बनाउछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्छ’, मन्त्री सिटौलाले भनेका छन्, ‘नामाङ्कनको बारेमा आफ्ना विमतिहरुलाई शान्ति पूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र सम्वादका माध्ययमबाट निकास खोज्न सम्बद्ध सबै पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ ।’
आइतबारको प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले आन्दोलनरत पक्षलाई तत्काल वार्तामा बोलाउन सरकारलाई आग्रह गरेको थियो ।
सोमबार गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए ।
मंगलबार सरकारका प्रवक्ता सिटौैलालाई वक्तब्य जारी गर्दै पहिचान पक्षधलाई औपचारिक रूपमा वार्तामा आउन आग्रह गरेका हुन् ।
