इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशलाई असफल बनाउन स्वदेशी तथा विदेशी तत्व सक्रिय भएर लागेको आरोप लगाएका छन् । सूर्योदय नगरपालिका एमाले नगर कमिटीले इलाममा आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान’को इलाममा उद्घाटन गर्दै खनालले संविधान संशोधन प्रस्ताव संसदबाटै फेल गराउने दावी गरे ।

२०७४ माघ सात गतेभित्र तीनवटै तहको निर्वाचन हुनुपर्नेमा एमाले दृढ रहेको भन्दै खनालले राष्ट्रिय अखण्डता, स्वाधिनता र आर्थिक समृद्धिको सिद्धान्तमा कसैसँग पनि सम्झौता नगर्ने स्पष्ट पारे । हिमाल, पहाड र तराईलाई विखण्डन गर्ने गरी ल्याइएको संशोधन प्रस्ताव जनविरोधी भएकाले जनताको आन्दोलनमा एमालेले समर्थन गरेको खनालको तर्क छ ।
एमालेको सिद्धान्त, रणनीति र कार्यक्रमलाई जनताको घरदैलोमा पु¥याएर ‘एमाले विकासे पार्टी’ भएको प्रमाणित गराउन उनले कार्यकर्तालाई निर्देशन दिए । इलाम क्षेत्र नं. एकमा यसवर्ष २५० भन्दा बढी योजना परेको भन्दै खनालले कार्यान्वयन र अनुगमनमा ध्यानदिन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई खनालले स्वागत गरेका थिए ।
कार्यक्रममा इलाम जिल्ला अध्यक्ष राम राना, पूर्व अध्यक्ष मणि सुब्बा, क्षेत्रीय अध्यक्ष काजीमान कागते, क्षेत्र नं. १ का ईन्चार्ज आरपी राई, क्षेत्रीय सचिव सोनाम छिरिङ लामालगायतको उपस्थिति रहेको थियो ।