सुर्खेतको बीरेन्द्रनगरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा शाहले देशको स्वाभिमानको रक्षाका लागि सबै एकजुट हुनु पर्ने अवस्था आएको बताए ।
उनले भने, ‘हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान – हाम्रो शान हो – आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो, त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौं – त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आवाज सुन्छौं ।’
पूर्वराजा शाहले नेपालको पिरमर्का बुझ्न नेपाली मुटुले मात्र सक्ने उल्लेख गर्दै के कस्तो विधि व्यवस्था अंगाल्ने र नेपालीको गौरब गरिमालाई पुनः ताजा बनाउने भन्ने बारेमा सोच्नै पर्ने बेला आएको बताए ।
पूर्वराजा शाहले भने, ‘अब हामी भन्दछौं – मिलौं, हामी सबै मिलौं, त्यसैले हामी भन्दछौं – जुटौं, हामी सबै एक भएर जुटौं , त्यसैले हामी भन्दछौं – हामी नफुटौं र परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौं । त्यसैले फेरि पनि भन्छौं जुटौं, खटौं र डटौं, स्वधर्मबाट हटेर होइन त्यसमै एकजुट भएर राष्ट्रका निम्ति एक साथ अघि बढौं ।’
