काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्राउ प्रकरणमा पक्राउ परेकाहरुको बयान लिन शनिवार(आज) पनि सरकारी वकिल कार्यालय काठमाडौं खुला हुने भएको छ ।
आइतवार अनुसन्धान प्रतिवेदन बुझिसक्नु पर्ने भएको हुँदा बयानका लागि सरकारी वकिल कार्यालय शनिवार पनि खुला हुने भएको हो ।
प्रहरीका अनुसार प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँको बयान शनिवार हुँदैछ । उनीहरुलाई प्रहरीले बिहीवार पक्राउ गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायधिवक्ता अच्यूतमणि नेउपानेले बयानका लागि शनिवार कार्यालय खुला रहने जानकारी दिए ।
उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टेकनाथ रिजाल र शमशेर मियाँसँग बयान लिन बाँकी छ । आज उनीहरुसँग बयान लिनकै लागि कार्यालय खुला रहनेछ । उनीहरुसँग हामीले हिजो नै बयान लिने भनेका थियौं । तर, हुन सकेन । प्रहरीले कार्यालयमा उपस्थित गरायो भने उनीहरुसँग आज बयान हुनेछ ।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले पक्राउ परेका रिजाल र मियाँलाई बयानका लागि शनिवार नै सरकारी वकिल कार्यालय लगिने बताए ।
उनले भने, ‘रिजाल र मियाँसँग सरकारी वकिल कार्यालयले बयान लिन बाँकी छ । उनीहरुलाई आजै कार्यालय लगिनेछ । बयान सकिएपछि भोली अनुसन्धान प्रतिवेदन पेश गरिनेछ ।’
घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले १६ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्ने पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई रहेका छन् ।
त्यस्तै, सन्दीप भण्डारी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी, गोविन्द चौधरीलाई पनि प्रहरीले धन्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ । पक्राउ पुर्जी जारी भएका प्रतीक थापा र नीरज राई भने अहिले फरार छन् ।
उनीहरु विरुद्ध प्रहरीले अहिले संगठित अपराध र ठगि मुद्या अन्तर्गत अनुसन्धान गरिरहेको छ । उनीहरु विरुद्ध राज्य विरुद्धको अपराध कसूर पनि लगाउने तयारी प्रहरीको छ । प्रहरीले धन्दामा संलग्न रहेको अभियोगमा गत १२ चैतमा दुलाल र भणडरीलाई पक्राउ गरेको थियो । त्यसपछि घटनामा जोडिएका हाईप्रोफाइल धमाधम पक्राउ परेका हुन् ।
