काठमाडौं । आफू हराएको नाटक गरेर लुकेका झापा बुद्धशान्ति ४ का पूर्ण भनिने शेरबहादुर सुहाङ र उनका सहयोगी प्रेम भन्ने फूल बहादुर गौतम दर्जीलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।
उनीहरु दुबैजना मिलेर आफूले लगाएको टि-सर्ट च्याती, घडीसमेत चुडाई फाली भ्रम सिर्जना गरि सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ।
प्रहरीले स्थानीयबासीहरुको सहयोगमा इलाम जिल्ला रोङ गाउँपालिका वडा नं.४ स्थित बिरिङखोलाको
पुलमुनीबाट उनीहरूलाई फेला पारेको हो।
गत वैशाख ३१ गते साँझ ५: ४० बजेको समयमा बुद्धशान्ति ३ स्थित बालुवाटार चौकमा नेपाल तरुण दल बुद्धशान्तिका सभापति करण लाबुङको नेतृत्वमा करिब सय जनाको संख्यामा भेला भएर भ्रष्टाचारविरुद्धको विरोध कार्यक्रम भएको थियो।
उक्त कार्यक्रम सम्पन्न भएपछि सुहाङले फेसबुकमा उक्त भ्रष्टाचारविरुद्धको विरोध कार्यक्रमका आयोजकहरूलाई आघात पुग्ने गरी स्टाटस लेखेर सेयर गर्दा नेपाल तरुण दल बुद्धशान्तिका केही मानिससँग विवाद भएपछि आफूलाई बेपत्ता बनाएको भ्रम फैलाएका थिए।
खोजतलासका लागि उनका आफन्तहरूले इलाका प्रहरी कार्यालय धुलाबारीमा जेठ १ गते हुलियासहित निवेदन दिएका थिए। त्यसपछि जेठ २ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लेटरप्याडमा लिम्बुवान भोलेन्टियर्स (एलभी) इन्चार्ज सुहाङलाई सकुशल अपहरणमुक्त गरी दोषीलाई कडा कारबाही गरियोस् भन्ने ब्यहोराको प्रेस विज्ञप्तिसमेत जारी गरिएको थियो।
त्यसरी प्रहरी प्रशासनलाई दबाब दिइएपछि प्रहरीले घटना सम्बन्धमा तालिमप्राप्त कुकुर समेतको प्रयोग गरी अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जानकारी दिए।
सोही ठाउँ बस्ने सुहाङकै साथी दर्जीसँगको मिलेमत्तोमा बुद्धशान्ति ७ पैनीबगरमा आफूले लगाएको टि-सर्ट च्यातेर, घडीसमेत फालेर भ्रम सिर्जना गरी सम्पर्कविहीन भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
बुधबार जिल्ला प्रहरी कार्यालय, झापाबाट खटिएको प्रहरी टोलीले स्थानीयबासीसमेतको सहयोगमा इलाम रोङ गाउँपालिका वडा नम्बर ४ स्थित बिरिङ खोलाको पुलमुनिबाट सुहाङलाई फेला पारी नियन्त्रणमा लिएको हो। सुहाङ र दर्जीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
