काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमध्येका आङटावा शेर्पालाई प्रहरी तारेखमा छाडेको छ ।
आङटावा सोमवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौमा आत्म समर्पण गर्न पुगेका थिए । आङटावा विरुद्ध हिरासतमा राख्नु पर्ने बलियो प्रमाण फेला नपरेपछि प्रहरीले उनलाई तारेखमा छाडेको हो ।
जिल्लाप्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले उनी विरुद्ध पक्राउ पुर्जी पनि जारी नभएको र हिरासतमा राख्नु पर्ने बलियो प्रमाण पनि नभएको हुँदा तारेखमा छाडिएको बताए ।
रामेछापका पूर्व सांसद उनले नक्कली भुटानी शरणार्थी बनाउने भन्दै रामेछाप र दोलखाका तीन सय भन्दा धेरै युवासँग रकम असुलेका थिए । विवाद आएपछि उनले अधिकांशको रकम फिर्ता गरेका थिए । कतिपयको अझै रकमफिर्ता हुन सकेको छैन ।
उनीहरुलाई केही दिन भित्रै रकम फिर्ता गर्ने आश्वासन उनले दिँदै आएका छन् । त्यसो हुँदा उनी विरुद्ध कसैले पनि प्रहरी कार्यालयमा उजुरी दिएका छैनन् ।
