काठमाडौं। सभामुख देवराज घिमिरेले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ मागेपछि सभामुख घिमिरेले सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी, राज्यबिरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्तेसम्बन्धी अपराध रहेको भन्दै संलग्नलाई कुनै पनि हालतमा छुट दिनु नहुने बताएका थिए । उनले सरकारले अनुसन्धानलाई कमजोर बनाउने र छानबिनलाई प्रभावित पार्नु नहुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।
पछिल्ला दिनमा प्रहरीले अनुसन्धान नगर्ने हो कि, प्रकरणलाई अख्तियारको जिम्मा लगाउने हो कि भन्ने तर्कहरु आउन थालेको भन्दै त्यस्तो गल्ती नगर्न समेत लिङदेनले सरकारको ध्यानाकर्षण गराएका छन्।
