धनगढी। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ।
आज एमाले सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्ट निवासमै उनीहरूबीच भेटवार्ता भएको हो।
प्रचण्ड लेखराजको निवासमा खाना खाएर केहीबेरमा महेन्द्रनगर प्रस्थान गरेका छन्। उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम प्रस्थान गरेका हुन्।

फर्किनेक्रममा दाहालले भने, ‘यो घर मेरो पनि हो । यहाँ मेरो एउटा कोठा छ । सधैँ आएर बस्ने खाने, यो घरसँग मेरो ४० वर्षसँगको सम्बन्ध छ । सामान्य विषयमा कुराकानी हुने नै भयो । अरु त्यस्तो कुनै एजेण्डामा कुराकानी भएन ।’
पूर्वमाओवादी धारका नेता भट्ट एमाले सुदूरपश्चिम इन्चार्जसमेत छन् ।
लेखराज पूर्वमाओवादी नेतासमेत हुन्। उनी नेकपा विभाजनका बेला एमालेमा समाहित भएका थिए।

