काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूहरुले सदनमा सधैँ खाली कुर्सी देखिने गरेको तर्फ इंकित गर्दै अझै कति समय, कति चोटी खाली मेचहरुलाई सम्बोधन गर्दै बस्ने हो? भन्दै प्रश्न गरेकी छिन्।
‘प्रतिनिधि सभा नियमावली मस्यौदा समिति २०७९ को प्रतिवेदन’ माथिको दफावार छलफलका क्रममा आफ्नो संशोधन प्रस्तावलाई उल्लेख गर्दै सांसद श्रेष्ठले बैठकको व्यवस्थापन समय नतोकिएकाले खाली मेचलाई सम्बोधन गर्नुपर्ने अवस्था आएको बताइन्।
‘सांसदहरु बैठक चलिरहेको समयमा आवातजावत गरिराख्नुहुन्छ। अनि घण्टौँसम्म बिना कुनै विश्राम बैठक चलिरहँदा सबैलाई त गाह्रो हुन्छ नै नि, होइन र? त्यो त एक जना मान्छे वा दुई जना मान्छेलाई मात्रै होइन,’ उनले भनिन्। सांसद श्रेष्ठले आफूहरु उमेर धेरै भएका सांसदहरु पनि सदनमा भएको भन्दै उनीहरुको स्वास्थ्य अवस्था कस्तो होला? भन्दै प्रश्न गरिन्। ‘त्यसैले समयलाई तोकौँ। समय व्यवस्थापन गरौँ। खाजाको समय तोकौँ भनेर मैले त्यसैकारण संशोधन प्रस्ताव राखेको हो,’ उनले भनिन्।
नियमावलीमा श्रेष्ठले राखेको संशोधन प्रस्तावमा खाजाको लागि समय तोक्नुपर्ने उल्लेख छ। ‘कार्यसूची तयार गर्दा प्रत्येक ३ घण्टामा खाजाका लागि १ घण्टा विश्राम समय राखिनेछ,’ उनको संशोधन प्रस्तावमा भनिएको छ, ‘तर विशेष अवस्थामा सभामुखको निर्देशन अनुसार विश्राम समय, अवधि हेरफेर वा खारेज पनि गर्न सकिनेछ।’
