काठमाडौँ । नेपाल वायुसेवा निगमले पाँचवटा चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको छ। तीन वर्षयता भूमिस्थ गरिएका (ग्राउन्डेड) चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन्।
निगमका प्रवक्ता अर्चना खड्काले प्रतिनिधिले सोमबारदेखि काम सुरु गरेर एक महिनाभित्रै मूल्याङ्कन गरिसक्ने बताए । कम्पनीका प्रतिनिधिले सोमबारदेखि काम सुरु गर्ने र मूल्याङ्कनसँगै बिक्री प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ।
चीनबाट भित्र्याइएका यी जहाजले नाफा दिन नसकेपछि निगमले भाडामा लगाउने अथवा नेपाली सेनालाई स्काई ट्रक बनाउन दिनेलगायतबारे सोच बनाए पनि जहाजमा कसैले रुचि नदेखाएपछि बेच्नका लागि मूल्याङ्कन प्रक्रिया सुरु गर्न लागिएको हो।
जहाज भाडामा लगाउन निगमले दुई पटक बोलपत्र आह्वानसमेत गरेको थियो तर कसैको आवेदन परेन।
