काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले संसदमा दर्ता गराएको संक्रमणकालिन न्याय निरुपणसम्बन्धी विधेयक एकतर्फि रहेको बताएका छन्।
शनिबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा संसदीय दलको नेतासमेत रहेका लिङदेनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक तत्कालिन विद्रोही पक्षलाई मात्र फाइदा हुने गरि ल्याइएको भन्दै आफ्नो पार्टीको फरक मत रहेको बताए।
उनले भोलिको प्रतिनिधि सभामा सरकारमा तर्फबाट टेबुल हुन लागेको उक्त विधेयकको विरोधमा आफूहरुले धारण राख्ने समेत बताए। विगतमा पनि पीडित पक्षको असहमतिका बीच विधेयक ल्याउन खोज्दा पारित हुन नसकेको भन्दै उनले अहिले पनि बहुमतको आडमा पारित गर्न खोजिए राम्रो नहुने बताए।
उनले भने ‘यति संवेदनशील विषयमा बृहत छलफल नगरि अगाडि बढाउने कुरा हुँदैन। सरोकारवाला सबै पक्षको कुरा सुनिनुपर्छ। अझ भन्ने हो भने पीडित पक्षको कुरा सबैभन्दा धेरै सुनिनुपर्छ। यो विधेयकमा विद्रोही पक्षको मात्र कुरा समेटिएको छ। द्वन्द्वको अर्को पक्ष अर्थात दोस्रो पक्ष र तेस्रो पक्ष अर्थात आम जनता पनि यसमा पीडित छन्। तर यो विधेयकमा कहीँ पनि सम्बोधन छैन। यो विषयमा हामी संसदमा व्यापक कुरा उठाउछौँ।’
राप्रपाले भोलि संसदमा पेश हुन लागेको उक्त विधेयकमाथि विरोधको सूचना पेश गरेको छ।
