झापा । द्वन्द्व पीडितको क्षेत्रमा काम गर्दैै आएको सघाउ नेपालले ‘द्वन्द्व रुपान्तरण तथा मेलमिलाप’ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम शनिबारबाट सुरु गरेको छ ।
विर्तामोडमा आयोजित उद्घाटन कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग पूवाञ्चलका संयोजक कोषराज न्यौपानेले द्वन्द्वकालीन समयका गम्भीर प्रकृतिका घटना मेलमिलापको विषय बन्न नसक्ने बताएका छन् । उनले पीडितले न्याय पाउन नसकेसम्म द्वन्द्वको समाधान हुन नसक्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संयोजक न्यौपानेले न्यायका लागि पीडित पक्षलाई सजग हुन आग्रह समेत गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य झलकसिंह दर्लामीले द्वन्द्व निरुपणको कार्य ढिलो भएको बताए । संक्रमणकाललाई अन्त्य गर्न र पीडितले न्याय पाउन द्वन्द्व अन्त्य हुन आवश्यक भएको दर्लामीले बताए ।
स्थानीय शान्ति समिति झापाका संयोजक सूर्य नारायण गणेशले द्वन्द्वको अन्त्य नभएसम्म देश आर्थिक रुपले समृद्ध नहुने बताए । उनले राज्यले सबै खाले द्वन्द्व र विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य सिपी कडरिया, विर्तामोड नगरपालिका प्रतिनिधि मेघराज बास्तोला, बेपत्ता परिवारका रत्नबहादुर घिमिरे र सहिद परिवारका तुलाराम न्यौपानेले पीडितले न्याय पाउनुपर्नेमा जोड दिए ।
विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रमको अध्यक्षता सघाउ नेपालकी अध्यक्ष पूजा खनालले गरेकी थिइन भने महासचिव तारामणि सापकोटाले सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागीलाई स्वागत उपाध्यक्ष छत्र तिम्सिनाले गरेका थिए भने सहजीकरण कोषराज न्यौपानेले गरेका थिए ।